रियल मड्रिड विजयी
काठमाडौं- साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा सुरुमै १–० ले पछि परेको स्पेनिस ला लिगा क्लब रियल मड्रिडले खेलमा फर्किंदै इटालियन सिरी ए क्लब नापोलीलाई ३–१ ले हराएको हो ।
आठौं मिनेटमा नै लोरेन्जो इनसिग्नेले गोल गर्दै नापोलीलाई सुरुवाति अग्रता दिलाए । तर त्यसपछि भने रियल मड्रिडले तीन गोल गरेर नजिता आफ्नो पक्षमा पार्यो । रियल मड्रिका लागि करिम बेन्जिमा, टोनी क्रस र कासमेरोले गोल गरे । बेन्जिमाले १८ औं मिनेटमा रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ४९ औं मिनेटमा क्रसले गोल गर्दै रियल मड्रिडलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि कासमेरोले गोल गर्दै रियलको ३–१ को जित निश्चित गरे ।
यो खेलमा रोनाल्डोले गोल गर्न सकेनन् तर उनले टिमका लागि गोल गर्ने राम्रा मौका भने सिर्जना गरेका थिए । दोस्रो लेग आउँदो मार्च ७ मा नापोलीको मैदानमा हुनेछ ।