स्ववियु निर्वाचन पाँच दिन स्थगित
काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिनलार्इ स्थगित गर्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।
प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।
इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।