प्यूठान दुर्घटना अपडेट : ४ को मृत्यु
प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।
दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिङ्ग्री प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि रानाले जानकारी दिनुभयो । नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि आज बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए ।
जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । रानाका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
घटनामा १० जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।