काठमाडौँ । टोखा नगरपालिकामा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वैशाख १ देखि १६ गतेसम्म टोखा नगरपालिकाभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “घटना दर्ता गर्न बाँकी रहेका टोखावासी आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला”, उहाँले भन्नुभयो ।
टोखा नगरपालिकाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता नगराउने नगरपालिकावासीलाई जरिवाना गर्नेसमेत जनाएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।