मुख्यमन्त्री शाहीलाई साथ दिने या नदिनेबारे केन्द्रको निर्णय कुर्दै काँग्रेस
सुर्खेत । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने या नदिने भन्ने सवालमा काँग्रेस भने केन्द्रको निर्णय पर्खेर बसेको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । उहाँले काँग्रेस, राप्रपा, एमालेकै माधव पक्षका केही सांसदहरुको समर्थन प्राप्त हुने अपेक्षा गर्नु भएको छ ।
बिहान ९ बजे काँग्रेस संसदीय दलको बैठकमा सामान्य छलफल भए पनि ठोस निर्णय नभएको कांग्रेसमा एक नेताले बताएका छन् । उनका अनुसार दिउँसो १ बजेसम्म केन्द्रबाट मुख्यमन्त्री शाहीलाई साथ दिने या नदिने भन्नेबारे निर्देशन आउने छ । सोही अनुसार काँग्रेसले प्रदेशसभामा भूमिका निर्वाह गर्ने छ ।