माओवादीले समर्थन फिर्ता नदिएसम्म नयाँ सरकार गठन हुँदैन : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताउनुभएकाे छ।
आइतबार नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नदिएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताउनुभएकाे हाे।
उहाँले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताउनुभयाे। नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै भन्नुभयाे, ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्। ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ। तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन? यसमा शंका छ। ओली अहिले पनि सुविधाजनक बहुमतमै छन्। अल्पमतमा छैनन्। माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ।’
सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताउनुभयाे। उहाँले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताउनुभयाे ।