माओवादीले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन फिर्ताको तयारीे
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो । कांग्रेस र जसपाले नयाँ सरकारबारे निर्णय नगर्दा अन्यौलता भएको माओवादी नेताहरुले बताउदै आएका छन् ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद् पुनर्स्थापना गराइ दिए पनि संसद् प्रभावकारी भने बन्न सकेको छैन । सबै पार्टीको ध्यान सरकार परिवर्तनमा रहेको छ । यसअघि नेपाली कांग्रेसले पनि ओली नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।