गण्डकीका एमाले सांसद गुरुङद्वारा सभामुखको राजीनामा माग
काठमाडौं । गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग गर्नुभएको छ । प्रदेश सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची बढिसक्दा एकाएक सूचना टाँसेर स्थगित गरेको भन्दै नैतिकताका आधारमा उहाँले राजीनामा माग्नुभएको हो ।
गण्डकी सरकारले विश्वासको मत लिएर मात्रै बजेट सम्बन्धी कार्य अघि बढाउनुपर्ने विपक्षी दलहरुको माग छ। ठूलो दलका नेताको हैसियतमा बैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका पृथ्वीशुब्बा गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्रीले जेठ २८ भित्रै विश्वासको मत लिने बताउँदै आउनुभएको छ ।
विपक्षी दलका सांसदहरुले भने गण्डकी सरकार अवैधानिक रहेको आरोप लगाउँदै विश्वासको मत लिएर मात्रै बजेट सम्बन्धी प्रक्रिया अघि बढाउन माग गर्दै आएका छन्। उनीहरुले बजेटका सिद्धान्त र प्राथमिकतामा सुझाव नदिने बताउँदै संसदमा प्रदेश सरकार अवैध भएको र विश्वासको मत पाउन नसक्ने जिकिर गरिरहेका छन्।
विपक्षी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सांसद मनबहादुरले सभामुख अधिकारीको राजीनामा माग गर्नुभएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वास प्रस्तावमा बैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो।
संसदमा अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि जनमोर्चाका सचेतक पियारी थापाले आफ्ना सांसद बेपत्ता भएकोले सदन स्थगित गरेर सार्वजनिक गर्न र जीवनरक्षा गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिनुभएको थियो।
त्यही निवेदनका आधारमा सभामुख अधिकारीले चलिरहेको संसद बैठक कार्यसुची पुरा नगरी अनिश्चितकालका लागि स्थगित गरिदिनुभएको थियो । अविश्वास प्रस्तावमा मतदान नगरी संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेको भन्दै एमाले सांसदहरुले सभामुखको राजिनामा माग गर्दै आएका थिए।