लागूऔषध कारोबारमा संलग्न आरोपमा जापानमा दुई नेपाली पक्राउ
जापान- लागूऔषध कारोबारमा संलग्न आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् । सिन्जुकु वार्डअन्तर्गतको सिनओकुबो बस्दै आएका २९ वर्षीय तापोन तामाङ र २७ वर्षीय देवी गुरुङ पक्राउ परेका हुन् । प्रहरीले १५ करोड जापानी यान बराबरको लागू औषधसहित उनीहरूलाई सार्वजनिक गरेको छ ।
बिहीबार सार्वजनिक गरिएका तामाङ प्राविधिक शिक्षालयमा अध्ययनरत र गुरुङ जापानको एक रेस्टुरेन्टमा कार्यरत रहेको प्रहरीले जनाएको छ । वाद्यवादन सामग्रीमा पोको पारेर राखिएको चरेससहितका लागूऔषध भारत हुँदै टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थल भएर सिन्जुकुस्थित निवासमा पुर्याएको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
कुरियर गरेर पठाएको ३ किलो चरेस भेटिएपछि कोठा खानतलासी गर्दा १८ किलो ६ सय ग्राम चरेस बोरा र पोकामा भेटिएको प्रहरीले जनाएको छ । जापानी मिडियाले जनाएअनुसार तामाङ सामान मगाउँथे भने गुरुङ उनलाई सघाउँथे ।