कर्णालीमा मन्त्रीको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध, बजेट पारित भएन
काठमाडौ । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले आफ्ना तीन जना मन्त्रीको राजीनामा माग गर्दै बैठक स्थगित गरेका हुन् ।
सरकारमा सहभागी भएका माधव नेपाल पक्षका तीन जना मन्त्रीको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको हो ।
बजेट पेश भएदेखि नै एमालेले पटक-पटक संसद अवरुद्ध पार्दै आइरहेको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नु भएको थियो। तर, बजेट पारित गर्न नदिन एमालेले सदन अवरुद्ध पार्दै आइरहेको छ ।
एमालेले ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै आइरहनु भएको छ ।
कर्णाली प्रदेश सरकारमा बहुमतमा नरहेको, अल्पमतमा रहेको सरकारले बहुमतमाथि शासन गर्न नपाइने भन्दै एमाले सांसद दल रावलले संसद् अधिवेशन चल्न नदिने बताउनु भयो ।