जाजरकोटमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु , ३७ घाइते
जाजरकोट- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै बस दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट दुई सय मिटर तल पासागाड खोलामा खसेको हो।
खलंगाबाट दिउँसो ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी समितिको उक्त बसमा ५० बढी यात्रु सवार भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सेतोपाटीलाई जानकारी दिए। ‘घटनामा परी अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ,’ ३७ जना घाइते छन् मृतकको संख्या अझै बढ्न सक्छ,’ पौडेलले भने,‘अरू यकिन साथ केही भन्न सक्ने स्थिति छैन।
घटनास्थल सदरमुकाम खलंगादेखि पाँच किलोमिटरको दूरीमा रहेको छ। मृतक कसैको सनाखत हुन नसकेको प्रजिअ पौडेलले बताए।
क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ।