एसएसबीको गोलीले मारिएका गोविन्द गौतम सहिद
काठमाडौं- कञ्चनपुरको आनन्दबजारस्थित अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीले मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ ।
नेपाली नागरिक भारतीय सुरक्षा अधिकारीको गोलीबाट आफ्नै मातृभूमिमा ज्यान गुमाउनुपरेको घटनालाई देशको सार्वभौमिकतामाथिको आक्रमणका रूपमा निन्दा गर्दै सांसदहरूले शुक्रबार संसदको बैठकमा सरकारसँग थप जानकारी माग गरेका थिए ।
घटनाप्रति भारतसँग आपत्ति जनाइएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सहिद घोषित गौतमको अन्त्येष्टि सम्मानका साथ गर्ने, उनका सन्तानलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने, पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको बताए ।
भारतीय सीमाभन्दा निकैभित्र निर्माणाधीन कल्भर्टका विषयमा स्थानीय नेपालीसँगको विवादमा एसएसबीका अधिकारीले बिहीबार गोली प्रहार गर्दा गौतमको मृत्यु भएको थियो ।