नाम र राजधानी तय भएको खुसीयालीमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएपछि मधेस सरकारले आज सार्वजनिक बिदा दिएको हो ।सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र राजाधानी जनकपुरधाम तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
करिब चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो । संसदीय विषेश समितिले नामाकरण सम्बन्धी गरेको पहिलो प्रस्ताव ‘मधेस प्रदेश’को पक्षमा ८० मत खसेको थियो । मधेस नामकरणको विपक्षमा १९ जना सांसद उभिए । उपस्थित भएपनि उनीहरूले मधेस नामका लागि मतदान गरेनन् ।
प्रदेश सभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सांसद उपस्थित थिए । पाँच जना सांसद अनुपस्थित रहे । स्वीकृत भएको मधेस नाम सत्तारूढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साझा प्रस्ताव थियो ।