पोर्चुगलको लिस्बनमा आठ महिने नेपाली बच्चाको रहस्यमय मृत्यु
लिस्बन– साना केटाकेटी रेखदेख गर्ने स्कूलमा राम्रै छोडेर काममा गएका बाबु आमालाई अचानक बच्चा बितेको खबर पाउँदा कस्तो होला ? भक्तपुर दधिकोटका विनोद धिमाल र अम्बिका धिमाललाई पोर्चुगलको राजधानी लिस्बनमा यस्तै शोक परेको छ ।
आठ महिनाको छोरा अबिरल धिमालको राजधानी लिस्बनस्थित साना नानीहरुको रेखदेख गर्ने स्कूलमा अचानक निधन भएको हो । अबिरललाई कुनै स्वास्थ्य समस्या थिएन । बिहान सवा नौ बजे बच्चालाई राम्रै बुझे पनि सवा ११ बजेतिर सास फेर्न समस्या भएको पाएपछि स्कूलले तत्कालै एम्बुलेन्स बोलाएको थियो। डाक्टरसहित एम्बुलेन्स आइपुग्दा बच्चाको निधन भइसकेको थियो।
खबर सुनेर आत्तिँदै आएकी आमा स्कूलमै बेहोस भएपछि आमालाई पनि एम्बुलेन्सले अस्पताल पुर्याएको थियो।
पिता विनोद धिमालले रूँदै छोरा अबिरलको निधनको न्यायिक जाँच हुनुपर्ने माग प्रहरी समक्ष गरेका छन्। अस्पतालमा पोष्टमार्टम गरिसकेपछि प्रहरीले लासलाई बाबु आमाको जिम्मा लगाएको छ। गैर आवासीय नेपाली संघको सहयोगमा वैदिक विधिपूर्वक अविरलको दाह सँस्कार हुँदैछ ।
संघका अध्यक्ष भीम कमल केसीले स्कूलको लापरबाहीका कारण बच्चाको निधन भएको पाइएमा पीडित परिवारलाई कानूनी सहयोगको निम्ति संस्थाले सहयोग गर्ने बताए।
(सेतोपाटी ग्लोबलबाट )