एसएसबीबाट हत्या गरिएका सहिद गोविन्दका परिवारलाई जग्गादान
बर्दिया- भारतीय सीमा सुरक्षा बल एसएसबीबाट हत्या गरिएका सहिद गोविन्द गौतमका परिवारलाई काठमाडौं चन्द्रागिरी-१४ घर भई हाल बर्दिया बढैयाताल-३ का दामोदरप्रसाद अधिकारीले १२ धुर जग्गा दान गरेका छन् ।
नेपाली सेनाका पूर्वसुवेदार समेत रहेका अधिकारीले आफूले पाउने एक महिनाको पेन्सन १५ हजार नगद बिहीबार प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापामार्फत गौतम परिवारलाई बुझाएका छन् ।
कञ्चनपुर बाईसे बिचौवा-९ स्थित रहेको उक्त जग्गा गौतम परिवार क्रियाबाट उम्केपछि धनीपुर्जा पास गरिदिने भएका छन् । जग्गाधनी पुर्जा र नगद प्रजिअ थापासमक्ष उनले बुझाएका छन् ।
करिब साढे ३ लाख मूल्य पर्ने उक्त जग्गा कञ्चनपुर मालपोत कार्यालयबाट पास गराई सहिद परिवारको नाममा पास गरिदिने उनले बताए । ‘देशका लागि ज्यान आहुती दिएका गौतम परिवारलाई पूर्व सेनाको हैसियतले सहयोग गर्न पाउँदा आफू निकै गौरान्वित भएको छु’ उनले भने ।