दिपक दीपाको ‘छक्का पञ्जा फेरी’, काम गर्न मानिनन् साम्राज्ञीले
काठमाडौं- २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेलको रुपमा ‘छक्का पञ्जा फेरी’ बन्ने भएको छ । केहि दिन पहिले नै निर्माता दिपकराज गिरी अनि निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरिसकेका छन् ।
यो बीचमा फिल्मको लागी ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी दिपकदीपाले अफर गरेको चर्चा चल्यो । अब भने यो फिल्ममा साम्राज्ञी नरहने करिब निश्चित भईसकेको छ ।
दिपक दीपाले आफ्नो फिल्ममा पुराना कलाकार (अघिल्लो सिरिजमा संलग्न) केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, बुद्धी तामाङसँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए ।
तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको खबर छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा फेरी’ नगर्ने बताएको श्रोत बताउँछ । प्रदिपले भने यो बारेमा जवाफ फर्काएका छैनन् ।
फिल्मले दुई पुस्ताको कथा बोल्नेछ । सुरुमा ‘छक्का पञ्जा २’ नाम बोलिए पनि अन्तत: अब फिल्म ‘छक्का पञ्जा फेरी’ नाममा निर्माण हुने पक्का भएको हो ।