महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिनुभयो प्रधानन्यायाधीश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिनुभएको छ । संसद् सचिवालयले उहाँ निलम्बनमा परेको सूचना प्रकाशित गरेसँगै जबरा महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिनुभएको हो ।
प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
जबरालाई रजिस्टारहरू लालबहादुर कुँवर र नारायण पन्थीले गेटसम्म आएर बिदाइ गर्नुभयो । जबरा घर फर्किँदा उहाँ चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हाल्नुभएको हो । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।