एशियन कप तेस्रो चरणका छनौट खेल भारतमा हुने
काठमाडौं । आगामी जुनमा हुने एएफसी एशियन कपको तेस्रो चरणको छनोट खेलहरु भारतमा हुने भएका छन । एशियाली फुटबल महासंघ (एएफसी) ले तेस्रो चरणका छनोट खेलहरु भारतमा हुने जनाएको हो ।
एशियन कपको तेस्रो चरणको छनोट खेलहरु जुन ८, ११ र १४ तारिखमा आयोजना हुने छन् । नेपाल पहिलो पटक एशियन कपको तेस्रो चरणमा प्रवेश गरेको हो ।
२०२३ को जुन १६ तारिखबाट चीनमा हुने एशियन कप छनोट चरणमा सहभागि कुल २४ देश मध्ये १३ टिम एशियन कपका लागि छनोट भइसकेका छन । बाँकी ११ टिमले छनोट चरणबाट फाइनल राउण्डमा स्थान बनाउने छन्।
हालसम्म अष्ट्रेलिया, चीन, इराक, इरान, जापान, दक्षिण कोरीया, लेबनान, ओमान, सिरिया, साउदी अरेबीया, युएई र भियतनामले एशियन कपमा स्थान बनाइसकेका छन । छनोट चरणमा सहभागि २४ टिमलाई ६ समुहमा विभाजन गरिने छ । जसमा हरेक समुहका विजेता र पाँच उत्कृष्ट उपविजेता टिमले एशियन कप खेल्न पाउने छन् ।