घरबेटीले गर्ने तुच्छ बोलि र व्यवहारले गर्दा नै होला शहर पटकै मन परेन मलाई !
शिताष्मा रायमाझी । स्कुले जीवनमा धेरै पटक शहरिया जिवन बेस कि गाँउले जीवन बेस भन्ने वादविवादमा सहभागी हुर्दै गर्दा शहरिया जीवन बेस भन्दै वादविवाद गर्ने मलाई अहिले भने किन-किन गाँउले जीवन निकै प्यारो लाग्छ ।
शहरिया जीवनको पक्षमा तर्क राख्दै गर्दा धेरैपटक पुरस्कार पनि जित्ने गरेको मैले शहर प्रवेश गरेर यो सँगै पैठेजोरी खेलेको पनि करिब १४ बर्ष जति भएछ । शहरमा अर्काको घरमा डेरा गरि बस्नुपर्ने र त्यसमा पनि घरबेटीले गर्ने कतिपय तुच्छ बोलि र व्यवहारले गर्दानै होला शहर पटकै मन परेन मलाई । मैले आज आएर बल्ल महशुस गरेको छु ‘शहरिया जीवनभन्दा गाउँले जीवन धेरै बेस’ हुँदो रहेछ ।
शहरमा बस्नेहरु गाउँका मान्छेलाई अझैपनि पाखे, केहि नजान्ने भनेर हेप्ने अनि होच्याउने गर्दछन् तर मलाई लाग्छ गाउँका मान्छेलाई होच्याउने चैँ पाखे हुन् । कतिपय अवस्थामा त यस्तो लाग्छ शहरका मान्छेसँग न मानवता छ, न अरुलाई गर्ने कदर नै, बस उनिहरुसँग छ केहि थान पैसा र त्यसले नै बढेको अहम् ।
साचैँनै स्कुलका ति दिनहरुमा दिदी अनि दाइहरुले शहरको बारेमा भनेको भरमा र कहिँ कतै निबन्ध पढेको भरमा शहरप्रति मेरो आफ्नै पृथक कल्पना थियो, त्यहि कल्पनाले नै नदेखिकनै फुरुङ्ग पर्ने म, शहर छिरेको केहि दिन त त्यसै त्यसै रमाएकी पनि थिए ।
शहरमा टेक्न पनि नसकिने गरि घरहरु छन्, अझ अचम्म लाग्ने कुरो त एउटै घरमा घेरै मान्छे छन्, घरहरु नजिक भएर पनि मन टाढा हुँदो रहेछ शहरका मान्छेको । गाउँमा एउटा घरबाट अर्को घरमा जान पनि ५-१० मिनेटको बाटो तय गर्नुपर्छ तैपनि एक अर्का प्रतिको माया मोह भने अत्यन्तै प्यारो हुन्छ, कुनै घरमा मिठो पाक्यो भने बास्नासँगै खानेकुरा पनि पुगिहाल्छ । तर शहरमा खान नपाएर भोक भोकै बस्नु परेको छ भने पनि एक छाक खान दिने कोहि भेटिदैनन् लाग्छ धनहुँनेसँग मन हुँदैन मन हुँनेसँग धन हुँदैन ।
शहरमा सबैभन्दा पीडादायी त घरधनीको हेलाहाँसो र उपेक्षित व्यवहार हुने गर्दछ । उनीहरु यस्तो व्यवहार गर्छन की कोठामा बस्नेहरु त भिखारीनै हुन्, उनीहरु गरिव भएर मागिखान शहर छिरेका हुन् । तर उनीहरु कहिल्यै बुझ्दैनन कि त्यही हामीले तिरेको कोठाभाडाले उनीहरुको गुजार चलिरहेको छ । गाउँमा आमाले बारिमा टिपेर दिएको ताजा तरकारी खाने बानी परेकी म शहरमा बिषाधिले नओइलाउने पारेका तरकारी त्यसमा पनि कैयौं दिनका बासी नै प्यारो मान्नुपर्ने ।
गाउँका बच्चाहरु आफन्त वा छिमेकी कोही आएभने निकै आदर सत्कार गर्ने गर्दछन् । तर एक दुई परिवार बाहेक शहरका केटाकेटीहरु घरमा छन् या छैनन् भन्ने पनि थाहा नहुने, यदि घरमानै भएपनि देखिहाल्यो भने बोल्ने साहस गर्दैनन् ।
हिँजोआज किन किन लाग्छ शहरका मान्छे बोइलर कुखुरा जस्तै हुन् । हेर्दा मोटोघाटो देखिने तर बिना तागतको फोक्से मासुले भरिएको । फगत सुन्निएको जस्तै । कृत्रिम र बनावटी मात्रै । शहरको बासी र विषाक्त मिसिएको असन्तुलित खानेकुराले होला सायद यसरी मोटाएको पनि । हुनतः शहरीयाहरु कम्ती सौखिन हुने होइनन् । काम गर्दा ज्याननै खिइहाल्छ जस्तो हरेक काम अरुले गरिदनुपर्ने । गाँउमा ७० बर्षकी हुनुभएकी हजुरआमाले पनि काम नगरे कुँजो हुँइन्छ भनेर आफुले सकेको काम गर्नुहुन्छ तर शहरमा काम गर्यो भने सानो होइन्छ भने जस्तै भ्रम छ ।
किन किन शहरमा पाइने रसवरीले गाउँमा फलेको काफल र ऐसेलुको याद आउँछ, शहरमा खेलिने टेबल टेनिसले गाँउमै देखिने डन्डिवियो अनि कबड्डीको याद आउँछ, बिहानै उठ्ने बितिकै पनि सासलिदा आएको दुर्धन्धित हावाले गाउँको स्वच्छ हावा अनि कलकल बगेको खोलाको याद आउँछ । बिहान उठ्ने बित्तिकै शहरमा बस्नेहरु ट्युसन र स्कुल भन्दै झोला बोकेर गाडी कुरीरहेको देख्दा उठ्नेबितिकै भुटेको मकै गोजीमा हालेर भिर पाखामा घाँस दाउराको लागि कुदेको याद आउँछ ।
शहरमा १४ बर्ष पुगेको बच्चालाई आफ्नी आामाले भात खुवाइदिएको देख्दा गाउँमा रहेको ६ बर्षको भाइले आमासँगै सानो ग्यालिनमा पानी बोकेको याद आउँछ । देश त एउटै हो तर पनि कति फरक छ है जीवनशैली।
अनि शहर भनेर के गर्नु साधारण रुघाखोकी लाग्दा पनि एन्टिबायोटिकको सहारा लिनुपर्ने गाउँमा यस्ता सामान्य रोगहरु त जडिबुटी र तातोपानी, बेसारले ठिक पार्छन । रोगसँग लड्न मह, तुलसीपत्ता, बेसार, अदुवा, दालचिनी र गुर्जो बालबालिकाको खुराक हुँन् । गाउँका बालबालिकाहरु दूध, दही र घ्यु खाएर हुर्किएका हुन्छन् । रोगले हत्तपत्त छुँदैन । तर शहरका केटाकेटीहरु पाउडर र पोकाको दूध खाएका पिलन्धरे मात्रै छन् । सेपिलो बारीमा रोपेका लिखुरे मकैजस्ता हलक्क बढेका मात्र ।
अनि सबैभन्दा अनौठो त के लाग्छ भने शहरका नाति नातिनाले आफ्ना हजुरबुवा अनि हजुरआमालाई कुनै बृदाआश्रममा भेट्न जाँदा हजुरआमाको काखमा लुटुपुटु गरेको याद आउँछ ।