‘विश्व रेकर्डधारी’ ऋषि किन मेचीदेखि महाकालीसम्म उल्टो हिँड्दै छन् ?
सन्देश सापकोटा ।। मानिसले पैदल यात्रा गरेर मेचीदेखि महाकालीसम्म पुग्न गाह्रो छ । तर दाङको तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँका ऋषिराम परियार उल्टो पैदल यात्रा गर्दै मेचीदेखि महाकाली पुग्ने अभियानमा छन् । गिनिज बुकमा विभिन्न विधामा नाम लेखाएका ऋषि २३ दिनयता लगातार उल्टोे हिँडिरहेका छन् ।उल्टो पैदल यात्रा गरी विश्व रेकर्ड बनाउने तयारीमा जुटेका उनी अहिले बाराको निगजढ पुगेका छन् । तीन साताभन्दा अगाडिदेखि मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका परियारले हालसम्म चार सय किलोमिटरको यात्रा पूरा गरिसकेका छन् । दैनिक २२ किलोमिटरसम्म यात्रा गर्ने परियारले अहिलेसम्म बिसाएका छैनन् । मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्छन् । राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार ठाउँअनुसारको भेषभूषा लगाउँछन् ।मधेस प्रदेश टेकेपछि धोती–कुर्ता लगाएर आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि यो यात्रामा एक्लै छन् । तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीहरू पनि सँगसँगै हिँड्छन् । उनी भन्छन्, ‘मैले यो अभियान थाल्दा कमै मानिसलाई यसबारे थाहा थियो । तर सामाजिक सञ्जालका कारण अहिले धेरैले थाहा पाउनु भयो । जहाँ पुग्छु, न्यानोे स्वागत पाउँछु । अनि धेरै जनाले एक–दुई किलोमिटर भएपनि हिँडेर साथ दिनुहुन्छ ।’स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका परियार महाकाली पुग्न अब दुई महिना लाग्ने बताउँछन् । उनका अनुसार अझै हजार किलोमिटर यात्रा बाँकी छ ।
यसकारण उल्टो यात्रा
यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका परियार उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्यमा छन् । काँकरभिट्टाको मेची नदि किनारबाट आफ्नो यात्रा थालेका उनी भन्छन्, ‘आजभोलि मानिसहरू हिँड्न छोडेर सुविधाभोगी धेरै हुँदा कति धेरै रोगको सिकार भइरहेका छन् । हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् । यसै सन्देश बोकेर उल्टो यात्रा थालेको हुँ ।’हातले टेकेरसमेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमिटर यात्रा गरेका थिए । विसं २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उनको मनमा फरक ढङ्गका क्रियाकलाप गरेर समाजमा केही शिक्षा दिने मनसाय बनाएका थिए । सोेहीअनुरूप उनले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखेका थिए ।‘द मोस्ट जम्पिङ्ग जक्स इन वान मिनेट’ को रेकर्ड परियारको नाममा छ । परियारले भारतीय नागरिकले एक मिनेटमा सय १६ पटक जम्पिङ्ग जक्स गर्दै बनाएको कीर्तिमान परियारले एक सय २३ पटक गर्दै भङ्ग गरेका थिए ।
यस्तै, उनले हालैमात्र एउटा विश्व कीर्तिमान आफ्नो नाममा सारे । उनले ३० सेकेन्डमा ड्रमस्ट्रिक धेरै पटक घुमाएर ‘मोस्ट ड्रमस्टिक फ्लिप्स इन ३० सेडेन्ड’ विधामा गिनिज बुकमा नाम लेखाए । ड्रम को स्टिकलाई हातमा राखेर छिटोछिटो घुमाउनु पर्ने सो विधामा उनले ५७ पटक घुमाए । यसअघि रेकर्ड बनाएका व्यक्तिले भने ५५ पटक ड्रमस्टिक घुमाएका थिए ।ती उपलब्धिबाट नै प्रेरित भएका उनी अर्को कीर्तिमान बनाउन उल्टो हिँड्न थालेका हुन् । अहिले उनको उल्टो पैदल यात्रामा विश्व रेकर्ड दर्ता गराउने टोलीले परियारसँग समन्वय गरिरहेको छ । यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्ड राख्ने तयारीमिा आफू रहेको परियार बताउँछन् ।
बाँके–बर्दियाको जङ्गलमा कसरी पार होलान् ?
परियारको यात्रा अनवरत रूपमा चलिरहेको छ । तर यात्राका क्रममा बाँके र बर्दियाको जङ्गल भने उनका लागि ठुलो चुनौती बन्न सक्छ । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल यात्रा ठुलो चुनौती होे । किनकि, त्यहाँ सुरक्षा निकायले मोटरसाइकलमा यात्रा गर्न पनि रोक लगाएको छ । वन्यजन्तुले आक्रमण गर्ने भएका कारण दुवै निकुञ्ज उल्टो पैदल यात्रामा रहेका परियारका लागि चुनौती बन्न सक्छ । बाँकेकोे तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको त्रास धेरै हुन्छ ।तर उनी सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा बाँके र बर्दियाको जङ्गल पार गर्ने लक्ष्यमा छन् । उनले त्यो जङ्गलमा गाडीमा नचढेर निरन्तर उल्टो यात्रा नै गर्ने जनाए । ‘म जहाँ पुगे पनि सुरक्षा निकायसँग समन्वय गरिरहेकै हुन्छु, बाँके पुग्नुअगावै त्यहाँको सुुरक्षा निकायलाई जानकारी गराउँछु,’ उनी भन्छन्, ‘अहिलेदेखि नै त्यहाँका केही संस्था÷ युवाहरूले बाँके र बर्दियाको जङ्गलभरि साथ दिने प्रतिबद्धता जनाउनु भएको छ । त्यसबाहेक सुरक्षा निकायलाई स्कर्टिङको व्यवस्था गरिदिन माग गर्ने छु ।’