चीर ठड्याएसँगै होली पर्व विधिवत् रूपमा सुरु
काठमाडौं । हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ । आज बिहिबार वसन्तपुरमा फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै होली पर्व विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक समितिले बिहान ७ बजेर २७ मिनेटमा साइत निकालेसँगै चीर ठड्याएको हो ।
होली श्रीकृष्णका अनेक लीलामध्ये रासलीलासँग सम्बन्धित छ ।’ चीरमा झुन्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउने जानकारहरु बताउँछन् ।
रंगीचंगी झल्लर कपडाका टुक्रा झुन्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिइएको छ ।
मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको पनि जनाउ दिएका छन् ।
होली पर्वलाई वसन्त ऋृतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ ।
यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।
आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याइएको छ । हनुमानढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइँन्छ । यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर –लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।