कस्तो बन्यो त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ? (फोटो फिचर)
काठमाडौं ।तस्विरः सन्देश सापकोटा ।। कास्की जिल्लाको पोखरामा अवस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । यो विमानस्थल गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा सहरको छिन्नेडाँडामा समुन्द्री सतहबाट ८०० मिटरको उचाइमा अवस्थित छ । हाल पोखरामा रहेको आन्तरिक विमानस्थलबाट ३ किलोमिटर पूर्वमा अवस्थित यो स्थान पृथ्वी राजमार्ग (काठमाडौं-पोखरा) सँग जोडिएको छ । करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीले गर्दा केही समय पछाडि धकेलिएको हो । चाइनिज सिएएमसीइ कम्पनीले २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण गर्न लागेको हो । यस विमानस्थलले प्रति वर्ष दश लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ ।


वाइड बडी विमानहरू ह्यान्डल गर्न सक्षम, नयाँ विमानस्थलले आपत्कालिन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा काम गर्ने र दक्षिण र पूर्वी एसियाली देशहरूमा सीधा सम्पर्कलाई सहज बनाउनेछ । नयाँ विमानस्थलले नेपालको हिमालय र अन्नपूर्ण क्षेत्रहरूमा हवाई प्रवेशद्वारको रूपमा काम गर्नेछ ।
पोखरा विमानस्थलमा एयरबस ए ३२०, बोइङ ७३७-७०० सिरिज र बोइङ ७५७ जस्ता व्यावसायिक विमानहरूको टेक-अफ र ल्यान्डिङ सञ्चालनमा सघाउन ३३० मिटर रनवे स्ट्रिपसहित २.५ किलोमिटर लामो र ४५ मिटर चौडा रनवे निर्माण गरिएको छ ।

ल्यान्डसाइड पूर्वाधारमा १०,००० वर्गको अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४,००० वर्ग मीटर क्षेत्रफल भएको घरेलु टर्मिनल भवन र ३,५०० वर्ग मीटर भन्सार र कार्गो भवनको निर्माणकार्य सम्पन्न भैसकेको छ । यस्तै तीन सय मिटर लम्बाइ र १०० मिटर चौडाइका दुईवटा एयरक्राफ्ट पार्किङ र पाँचवटासम्म स्वदेशी वा अन्तर्राष्ट्रिय विमान पार्किङका लागि एप्रनको निर्माण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाल ९ वटा पार्किङ वे छन् भने ३ हजार मिटरको धावनमार्ग रहेको छ ।


विमानस्थलमा २,५०० वर्ग मिटरको एयर ट्राफिक कन्ट्रोल टावर र सञ्चालन भवन, दुई सुरक्षा भवन, ६,००० वर्ग मिटरको आन्तरिक तथा अन्तर्राष्ट्रिय ह्याङ्गर, २०० मिटरको प्रशासनिक भवन, कार पार्किङ क्षेत्र, एयर नेभिगेसन युनिट, इन्धन भण्डारण क्षेत्रको निर्माण कार्य भैरहेको छ । पोखरा विमानस्थलमा नेपालमा नै पहिलो पटक कङ्क्रिटको धावनमार्ग निर्माण गरिएको छ । मर्मतसम्भार छिटो-छिटो गर्नु नपर्ने, लामो समयसम्म टिक्ने र धेरै पानी पर्ने ठाउँमा यो प्रविधि उपयोगी हुने बताइएको छ ।


यस्तै नेपालमै पहिलो पटक टर्मिनल भवनबाट जहाजसम्म सिधै जान मिल्ने बोर्डिङ ब्रिजको पनि सो विमानस्थलमा व्यवस्था गरिएको छ । विमानस्थलको संरचना निर्माणको काम सम्पन्न भएपनि अन्य रङ्गरोगनका काम भने भइरहेको छ ।


भिआईपि र भिभिआईपिको पनि छुट्टै आगमन र प्रस्थान कक्ष निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर ४ डि मोडलमा निर्माण भैरहेको विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडान गरिसकेपश्चात मात्रै अन्तर्राष्ट्रिय उडान गराउने तयारी छ ।


विमानस्थल निर्माणको लागि ३ हजार ८ सय ९९ रोपनी जग्गा तयार गरिएको छ। २०३२ सालमानै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिसकेको थियो भने पछि विमानस्थलले विस्तारै अधिग्रहण गरेको हो । पोखरा विमानस्थल संचालनको लागि हवाईरुटको पनि समस्या छ । नेपाललाई थप हवाई रुट दिन भारत समक्ष पर्यटन मन्त्रालयले लविङ गरिरहेको छ । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछिको पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।


अब सो विमानस्थलमा डेकोरेसन, फिनिसिङका कामसहित केही भेइकल, फायर भेइकल आउन बाँकी रहेको बताइएको छ । यस्तै, दुई बोडिङ ब्रिजमध्ये एउटा जडान गरिएको छैन । यसबाहेक डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरण, वर्षाको पानी नियन्त्रण गर्न नहर तथा ढलको व्यवस्थापन, नेपाल आयल निगमको डिपो निर्माणका काम बाँकी छन् ।


विमानस्थल सुरक्षित सञ्चालनका लागि नजिकै रहेको पोखराको फोहर व्यवस्थापन गरिँदै आएको ल्यान्डफिल साइटलाई अन्यत्र स्थानान्तरण गर्न अझै समस्या देखिएको छ । पोखरा महानगरपालिकाको जिम्मामा रहेको यो काममा पनि ढिलाइ भइरहेको हुँदा चराहरूको विमानस्थल वरपर हुने गतिविधिका कारण व्यवधान हुनसक्ने औँल्याइएको छ । यी काम अझै सुरु नभएकाले विमानस्थल निर्माण सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ हुने देखिएको छ ।


