कर्णालीमा जाडो बढ्यो, हिमपात हुन सकेन
जुम्ला, १७ पुस । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ ।
हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ । यही पुस १५ गतेसम्म हिउँपर्ने भनिए पनि जलवायुका कारण ढिलो भएको र अब जनवरी पहिलो सातासम्म हिमपात हुने अनुमान गरिएको कार्यालय प्रमुख चौरसियाले बताउनुभयो । जाडोले गर्दा यहाँका नागरिकको विशेषतः बिहान र बेलुकाको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।