वैशाख भित्र स्थानीय तहको निर्वाचन गरौं : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी वैशाख अन्तिम सातासम्म भएपनि स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित सुदूरपश्चिमान्चल स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले तत्काल निर्वाचनको मिति घोषणा गर्नसमेत माग गर्नुभयो ।
आगामी २०७४ माघ ७ गतेसम्म तीनवटै स्थानीय तहको निर्वाचन नभए मुलुक फेरि अराजकताको दलदलमा फस्ने खतरा रहेको औँल्याउँदै थापाले निर्धारित समयमा निर्वाचन नगराए ठूला राजनीतिक दलहरुलाई जनताले सडकबाट खबरदारी गर्ने धारणा राख्नुभयो ।
दुई राप्रपा पार्टीको एकीकरणलाई परिस्थितिजन्य बाध्यता हो भन्दै अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने नाउँमा जनताको अभिमतबिना हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको आरोप लगाउनुभयो ।
आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले राष्ट्रियता कमजोर भएकै कारण मुलुक तनावमा रहेको बताउनुभयो ।