केभिड डी ब्रुइनको चार गोलको मद्दतमा सिटीको फराकिलो जित
केभिड डी ब्रुइनले ब्याक्तिगत चार गोल गरेपछि बुधबार इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वुल्भर लाई ५–१ गोलले पराजित गरेको छ । जितसंगै सिटीले शिर्ष स्थानमा ३ अंकको अग्रता कायम गर्न सफल भएको छ ।
यस जित पछि सिटी ३६ खेलबाट ८९ अंक सहित शिर्ष स्थानमा रहदाँ समान खेल खेलेको लिभरपुलको ८६ अंक रहेको छ । लिभरपुल दोस्रो स्थानमा छ । अब लिगका २ खेल बाँकी रहेकाले उपाधि होड भने रोमाञ्चक बनेको छ । वुल्भ्स ५० अंक सहित तालिकाको आठौं स्थानमा रहेको छ ।
सिटीको जितमा ४ गोल केभिड डी ब्रुइनले गर्दा रहिम स्र्टलिङको नाममा १ गोल रह्यो । वुल्भ्सका लागि लेन्डर डेनडोकरले १ गोल फर्काउनु भएको थियो ।
पाहुना टोली सिटीका लागि ब्रुइनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । खेलको ११ औं मिनेटमा लेन्डरले गोल फर्काउँदै वुल्भ्सलाई बराबरीमा फर्काउनु भयो । त्यसपछि १६ र २४ औं मिनेटमा लगातार गोल गर्दै बु्रइनले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा सिटीले ३–१ गोलले अघि रह्यो ।
६० औं मिनेटमा ब्रुइनले व्यक्तिगत चौथो गोल गर्दा ८५ औं मिनेटमा स्र्टलिङले टिमका लागि पाँचौं गोल गर्दै फराकिलो जित दिलाउनु भयो ।