लिभरपुलले एफए कपको उपाधि, चेल्सी लगातार तेस्रो पटक निरास
चेल्सीलाई पेनाल्टी सुटआउटमा पछि पार्दँै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्यो ।
वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गर्नु भयो । लिभरपुलका साडियो माने पेनाल्टीमा चुक्नु भयो ।
यस्तै चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गर्नु भयो । चेल्सीका सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुक्नु भयो ।
लिभरपुलसंग पराजित भएसंगै चेल्सी लगातार तेस्रो सिजन फाइनलमा चुकेको छ भने लभरपुलले आठौं पटक एफए कपको उपाधि जितेको छ ।
यसै सिजन फेब्रुअरीमा लिभरपुलले कारबाओ कपको फाईनलमा चेल्सीलाई हराएको थियो । च्याम्पियन्स लिग फुटबलको फाईनल पुगेको लिभरपुल सिजनको तेस्रो उपाधिको नजिक छ । प्रिमियर लिग तालिकामा पनि लिभरपुल दोस्रो स्थानमा छ ।
च्याम्पियन्स लिगको फाईनलमा लिभरपुलले स्पेनिस क्लब रियल म्याड्रिडसंग खेल्नेछ । फाईनल खेल मे २९ मा खेलिनेछ ।