नेपाल दोस्रो टी–२० आईमा पनि पराजित
काठमाडौं । नेपाली महिला क्रिकेट टोली युगान्डाविरुद्धको दोस्रो टी–२० आई खेलमा पनि पराजित भएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपाल भ्रमण टोली युगान्डासँग १ विकेटले पराजित भएको हो । पराजित भएसंगै नेपाल ५ खेलको सिरिजमा २–० ले पछि परेको छ ।
रोमाञ्चक बनेको खेलमा नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।
युगान्डाको जितमा रिता मुसामालीले सर्वाधिक ३० रनको योगदान दिनु भयो । यस्तै फ्रान्कलिन नाजुम्बाले १९ रन र जनेट बाबाजीले १६ रन बनाउनु भयो ।
नेपालका लागि कविता कुँवर र शबनम राईले २–२ विकेट लिदाँ सिता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट हात पार्नु भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोड्नु भयो । सरिता मगरले २२ रन , डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहनु भएको थियो ।
यस्तै सिता राना मगर ६, इन्दु वर्मा ५ र अप्सरी बेगमले ३ रनको योगदान दिनु भयो ।
युगान्डाकी जनेट बाबाजीले २ विकेट तथा रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १–१ विकेट लिनु भयो ।
यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । यस अघि सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
नेपालले अब बिहीबार तेस्रो टी–ट्वान्टीमा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दुई टोलीबीच चौंथो टी–ट्वान्टी जेठ ६ गते र अन्तिम टी–ट्वान्टी जेठ ७ गते हुनेछ ।