अन्तिम टी–२० आईमा नेपालको सहज जित
काठमाडौं ।पाँचौं तथा अन्तिम टी–२० आई खेलमा नेपाली महिला टिमले युगान्डालाई ३३ रनले पराजित गरेको छ । योसँगै पाँच खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ ।
नेपालले जितको लागि दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्र बनायो ।
युगान्डाकी रिता मुसामालीले सर्वाधिक २६ रन बनाउदाँ केभिन एविनो १५, फिओना कुलुमे ८ र जेनेत म्बावाजी १० रनमा आउट हुनु भयो । सकिरा सडिक १३ रनमा अविजित रहनु भयो ।
नेपालका लागि इन्दु बर्मा र सीता रानामगरले २–२ विकेट लिदाँ अस्मिना कर्माचार्य र हिरान्माये रोयले १–१ विकेट लिनु भयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका लागि ओपनर ज्योति पाण्डेले ६१ बलमा ३ चौकासहित ४९ रनको ईनिङ खेल्नु भयो । यस्तै सिताराना मगरले १७ रन, र अपसरी बेगमले ११ रनको योगदान दिनु भयो ।
युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक–एक विकेट लिनु भयो । नेपालले ४ विकेट रन आउटको रुपमा गुमाउन पुग्यो ।
नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो ।