भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको पाँच बर्ष पुरा
काठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएको दिन (२०७४ जेठ ८) को सम्झनामा आईतबार (आज) विभिन्न कार्यक्रम गरि राष्ट्रिय भलिबल दिवस मनाईदै छ ।
नेपाल भलिबल संघको २०६८ साल साउनमा पोखरामा सम्पन्न पाँचौं बार्षिक साधारण सभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्छ भन्दै नेपाल सरकारमा निवेदनसहित पहल गर्न सर्वसम्मत निर्णय गरेको थियो । त्यसको ६ बर्ष पछि (२०७४ जेठ ८ गते सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
पाँचौं राष्ट्रिय भलिबल दिवसको अवसरमा आज नेपाल भलिबल संघ र विभिन्न क्लबहरुले विविध कार्यक्रमको आयोजना गर्दै छन् । दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गर्दै छ । न्यु डायमन्ड स्पोर्ट्स क्लबले समेत विविध कार्यक्रम गर्दै भलिबल दिवस मनाउदै छ ।
पछिल्लो समय भलिबल देश भरी निकै लोकप्रिय भएपनि अन्तराष्ट्रिय स्तरमा नेपालले भलिबलमा उल्लेखनिय उपलब्धी प्राप्त गर्न सकेको छैन । जसरी भलिबललाई राष्ट्रिय खेल बनाईएको छ त्यसरी यस खेलले अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकेको छैन । दक्षिण एशियाली क्षत्रमा नेपाली महिला भलिबलले आंशिक सफलता प्राप्त गरे पनि त्यसबाहेक अन्य उपलब्धी हासिल गर्न सकेको छैन ।
भलिबलमा लगानीको अभाव, प्रसस्त मात्रमा पूर्वाधारहरु नहुनु र खेल क्षेत्र राज्यको प्राथमिकतामा नपर्नुले प्रचुर सम्भावनाका वाबजुध नेपाली भलिबल मजबुध हुन सकेको छैन । माथि उल्लेखित जटिलताहरु लाई समयमै सम्वोधन गरे पक्कै पनि नेपाली भलिबलले अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव पार्न सक्नेछ ।