फुटबल टोली आज कतार जादै
काठमाडौं । कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली (बुधबार) आज कतार प्रस्थान गर्दैछन् । एसियन कप छनोटको तयारीका लागि नेपाली टोली कतार जान लागेको हो । टोली साँझ ६ बजे कतार प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
नेपाली टोलीले कतारमा करिब ९ दिन तयारी गर्ने छ र त्यसपछि जुन ४ मा कुवेत जाने छन् । नेपाली टोलीलाई मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको थियो ।
नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोली घोषणा गरेपछि नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिईएको छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेलमा११ मा कुवेतको सामना गर्दा नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
नेपाली टोलीः
गोलकिपर: दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डर: विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर: आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी
फरवार्ड: आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ