महिला र पुरुष क्रिकेटर तथा ग्राउन्ड स्टाफको परिश्रमिक वृद्धि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तथा ग्राउन्ड स्टाफको परिश्रमिक वृद्धि गरेको छ । क्यानको मंगलबार बसेको बोर्ड बैठकले महिला र पुरुष खेलाडी तथा ग्राउन्ड स्टाफको परिश्रमिक बढाएको हो ।
क्यानले सबै ग्रेडमा रहेका पुरुष खेलाडीको पारिश्रमिक १०–१० बढाएको हो । अव ए ग्रेडका पुरुष खेलाडीले मासिकरुपमा ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नु हुने छ । यस अघि ए ग्रेडका पुरुष खेलाडीले मासिक रुपमा ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आउनु भएको थियो ।
त्यस्तै महिलातर्फ क्यानले ए र बी ग्रेडका खेलाडीहरुको पारिश्रमिकमा ६ हजारका दरले वृद्धि गरेको छ भने सी ग्रेडका खेलाडीको पारिश्रमिक ५ हजारका दरले बढाईएको छ ।
अव, ए गे्रडका महिला खेलाडीले मासिक २१ हजार, बी ग्रेडका खेलाडीले १८ हजार र सी ग्रेडका खेलाडीहरुले १५ हजार पाउनु हुने छ । यस अघि ए ग्रेडमा रहने खेलाडीले १५ हजार पाउँदै आउनु भएको थियो । यस्तै बी र सी गे्रडका महिला खेलाडीले क्रमस १५ हजार र १२ हजार प्राप्त गर्दै आउनु भएको थियो ।
त्यसै गरी क्यानको बोर्ड बैठकले सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक रु ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक रु ५ हजारले वृद्धि गरिएको छ भने टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गरिएको छ ।
२०२२ को केन्द्रिय खेलाडी सम्झौता मा रहेका पुरुष खेलाडीहरु
ग्रेड एः सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी
ग्रेड बीः कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी
ग्रेड सीः कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ
२०२२ को केन्द्रिय खेलाडी सम्झौता मा रहेका महिला खेलाडीहरु
ग्रेड एः रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी,
ग्रेड बीः सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
ग्रेड सीः डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल
