बैंगलोर आईपीएलको क्वालिफायरमा
लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार राति ईडेन गार्डन कोलकत्तामा सम्पन्न एलिमिनेटरमा यसै बर्ष आईपीएलमा प्रवेश गरेको लखनउ सुपर जाइन्ट्सलाई १४ रनले गराजित गर्दै बैंगलोरले क्वालिफायरमा प्रवेश गरेको हो ।
बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।
लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई उपाधि नजित पुर्याउन सक्नु भएन । यस्तै दिपक होडाले ४५ रन जोड्दा मनन भोराले १९ रन बनाउनु भयो ।
बैंगलोरका जोश हाजलउडले ३ विकेट तथा मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १–१ विकेट लिनु भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।
बैंगलोरका लागि रजत पटीदरले अविजित रहदै १ सय १२ रनको शतकीय इनिङ खेल्नु भयो । दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहलीले २५ रन बनाउनु भयो ।
लखनउका लागि कुर्नाल पान्डय, मोसिन खान,अभेस खान र रबि बिश्नोईले १–१ विकेट लिनु भयो ।
अब बैंगलोरले फाईनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सको सामना गर्ने छ । आईपीएल २०२२ को दोस्रो क्वालिफायर शुक्रबार खेलिने छ ।
पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै नवप्रवेशी गुजरात फाईनल प्रवेश गरि सकेको छ ।