ग्रान्ड स्लाम टेनिसमा नाडालको ३०० औं जित
विश्व नम्बर पाँच स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नु भएको छ । बुधबार राति सम्पन्न दोस्रो चरणको खेलमा विश्व नम्बर १ सय ३९ फ्रान्सका कोरेन्टिन माउटेटलाई सोझो सेटमा हराउँदै नाडाल बर्षको दोस्रो ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गर्नु भएको हो ।
नाडालले माउटेटविरुद्ध ६–३,६–१ र ६–४ नतिजा निकाल्नु भयो । यस जितसँगै नाडालले ग्रान्डस्लाम टेनिसमा करियरको ३०० औं खेल जित्नु भएको छ ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जित्नु भएको छ । उहाँले फ्रेन्च ओपनमा १ सय ७ औं जित, अष्ट्रेलियन ओपनमा ७६, विम्बल्डनमा ५३ र युएस ओपनमा ६४ जित निकाल्नु भएको छ ।