विश्वको सबैभन्दा पुरानो टि–ट्वान्टी लिग आजदेखि
टी–२० क्रिकेटको सबैभन्दा पुरानो लिग टि–ट्वान्टी ब्लास्टको २० औं सिजन आजदेखि इंग्ल्याण्डमा सुरु हुँदैछ । १८ टोलीको सहभागिता रहने यस लिगमा कुल १ सय २६ खेल हुनेछन् । लिगको पहिलो खेल नेपाली समय अनुसार राति ११ः१५ बजेबाट योर्कशायर र वर्सेस्टरशायरबीच हुनेछ । फाइनल खेल १६ जुलाईमा हुनेछ ।
इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा आयोजित, टी–२० ब्लास्ट लिग विश्वको सबैभन्दा पुरानो व्यावसायिक ट–ि२० लीग हो । यसको पहिलो सिजन २००३ मा खेलिएको थियो । यहीँबाट टी–२० क्रिकेट विश्वभर फैलियो र खेलको सबैभन्दा लोकप्रिय ढाँचा बन्न् पुग्यो । लिसेस्टरशायर यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो, जसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ ।
टी–२० ब्लास्टमा इंग्ल्याण्डका विभिन्न क्षेत्र (काउन्टी) का १८ टोलीले भाग लिनेछन् । यी टोलीलाई उत्तर र दक्षिण क्षेत्रका आधारमा दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले ७ घरेलु र ७ अवे खेल गरी १४ समूह खेल खेल्न पाउनेछन् । लिग चरणपछि दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
उत्तर समूह–ः बर्मिङघम, डर्बीशायर, डरहम, ल्याङ्कशायर, लेसेस्टरशायर, नर्थह्याम्प्टनशायर, नटिङघम, वर्सेस्टरशायर, योर्कशायर
दक्षिण समूह–ः एसेक्स, ग्लुसेस्टरशायर, ह्याम्पशायर, केन्ट, ग्लैमोर्गन, मिडलसेक्स, समरसेट, सरे, ससेक्स
टी–२० ब्लास्ट इंग्ल्याण्डको लिग हो । तर, हरेक वर्ष इंग्ल्याण्डका युवा र अनुभवी खेलाडीहरूसँगै विश्वभरका चर्चित खेलाडीहरूले यस लिगमा भाग लिने गर्छन् । यस वर्षको लिगमा सरेका लागि केरोन पोलार्ड र सुनिल नारायण, योर्कशायरका लागि ह्यारिस रउफ, शादाब खान र दिमुथ करुणारत्ने, वर्सेस्टरशायरका लागि कोलिन मुनरो र ड्वेन ब्राभो, बर्मिङघमका लागि कार्लोस ब्राथवेट र पल स्टर्लिङ, ससेक्सका लागि मोहम्मद रिजवान, रशिद खान र टिम सेइफार्ड लगाएतका खेलाडी रहनु भएको छ ।
ड्यान क्रिस्चियन, जिमी निशम, क्रिस लिन, शाहिन अफ्रिदी, टिम डेभिड, हसन अली, मोहम्मद आमिर, मार्नस लाबुस्चेन र ड्यानियल साम्स जस्ता खेलाडीले पनि विभिन्न टोलीबाट खेल्नु हुनेछ ।