यू–२० फुटबल खेलाडीको छनोट जेठ २० देखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले सदस्य जिल्ला र क्लबलाई पत्राचार गर्दै छनोट प्रक्रियामा खेलाडीहरुलाई पठाउन समेत आग्रह गरेको छ । एन्फाले २०५९ साल पुस १७ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ ।
आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत सहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा , तेस्रो खेलमा भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै एएफसी यू–२० छनोटमा नेपाल समूह ’बी’ मा परेको छ । यस समूहमा नेपाल सहित कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ । बहराइनमा आयोजना हुने यस समूहका खेलहरु सेप्टेम्बर १० देखि १८ सम्म आयोजना हुनेछन् ।
छनोटमा नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्ने छ भने सेप्टेम्बर १२ मा कतारसँग, बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता र समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले उज्बेगस्थानमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने छन् । यू–२० एसियन कप मा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
एन्फाले यी दुबै प्रतियोगिताका लागि मेघराज केसीलाई नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
