क्यानविरुद्ध ईपीएल सर्वोच्चमा
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता गराएको छ । इपीएलले बिहीबार एक विज्ञप्ति निकाल्दै अन्तरिम आदेशको माग गर्दै क्यानविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको हो ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारीक फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता नेपाल टी २० लिग गर्ने भएपछि अरु फ्रेन्चाइज लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेसँगै एभरेष्ट प्रिमियर लिगका आयोजक र ६ टिमहरुले मुद्दा दर्ता गरेका हुन् । यद्यपी क्यानले अन्य निजी फ्रेन्चाइज लिगलाई क्षत्रिय मान्यता दिने बताएको थियो ।
इपीएल आयोजकले बिज्ञेप्ती जारी गर्दै क्यानले सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौतामा धेरै प्रश्नहरु खडा हुने अवस्था रहेको बताएको छ । यो सम्झौता अपारदर्शी, अबिश्वसनिय र नेपालको कानूनलाई उलंघन गर्ने किसिमको हरेको इपीएल प्रालीको दावी छ ।
क्यानले नेपाल टी–ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
