परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे
काठमाडौँ, १५ जेठ: चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७ सय ८६ जना घटेको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.२ प्रतिशत रहेको छ ।
औलो क्रमशः नियन्त्रणमा
यस्तै आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३ सय ८८ जनामा गरिएको परीक्षणमा ३ सय ५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।
सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोषण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा ७ सय ४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोषण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्र्रिया र ८ सय ८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्र्रिया गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८ सय २० जनाले क्यान्सर, तीन हजार ९ सय ४७ जनाले मुटु, चार हजार ९ सय ८४ जनाले हेमोडायलासिस, १ सय ७२ जनाले पेरिटोनियल डायलासिस र ४ सय जनाले मिर्गाैला प्रत्यरोषण लगायतका ठूला रोगमा २६ हजार ३ सय ३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७ सय ४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९ सय ५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभन्वित भएको पाइएको छ । (रासस)