विलियम्सन कोरोना संक्रमित, इंग्ल्यान्डसंगको दोस्रो टेस्ट गुमाउने
नटिङ्घममा शुक्रबार (आज) देखि सुरु हुँने इंग्ल्यान्ड–न्युजिल्यान्ड टेस्ट सिरिजको दोस्रो टेष्टअघि विश्व च्याम्पियन न्युजिल्यान्डको टोलीलाई झट्का लागेको छ । किवी कप्तान केन विलियम्सन कोरोना संक्रमित हुनु भएको छ । कोरोना पोजेटिभ भएपछि विलियम्सनले दोस्रो टेस्ट गुमाउनु हुनेछ ।
इंग्ल्यान्डको कोरोना प्रोटोकल अनुसार ३१ वर्षीय केन विलियम्सन अब ५ दिन आइसोलेसनमा बस्नु हुनेछ । इंग्ल्यान्डसंगको खेलअघि न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले विलियम्सन कोरोना संक्रमित भएको पुष्टि गर्नु भएको हो ।
केन विलियम्सनले पहिलो टेस्टमा खासै राम्रो प्रदर्शन गर्न सक्नु भएको थिएन । उहाँले पहिलो इनिङ्समा २ र दोस्रो इनिङ्समा १५ रन बनाउनु भएको थियो ।
न्युजिल्यान्डको टोली व्यवस्थापनका अनुसार कप्तान केन विलियम्सनको स्थानमा हमिस रदरफोर्डलाई टिममा सामेल गरिएको छ । विलियम्सनको अनुपस्थितिमा टम लाथमलाई टोलीको कप्तानको जिम्मेवारी दिईएको छ ।
तीन खेलको टेष्ट सिरिजको पहिलो टेस्टमा न्युजिल्याण्ड ५ विकेटले पराजित भएको थियो । पहिलो टेस्टमा इंग्ल्यान्डलाई जित दिलाउन जो रुटले आफ्नो टेस्ट करियरको २७ औं शतक प्रहार गर्नु भएको थियो । उहाँले क्रिकेटको सबैभन्दा ठुलो प्रारुपमा १० हजार भन्दा बढी रन बनाउने दोस्रो इंग्लिस ब्याट्सम्यान समेत बन्नु भएको थियो । लर्ड्स टेस्टमा हार बेहोरेपछि किवीहरू ०–१ ले पछि छन् ।