कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल
काठमाडौं / एफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज (शनिबार) घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
जाबिर अल अहमद मैदानमा खेलिने खेल नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ ।
दुब टोली छनोटमा पहिलो जितको खोजिमा हुनेछन् । नेपाल आफ्नो पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो भने कुवेतलाई इन्डोनेसियाले २–१ ले हराएको थियो ।
बलियो कुवेतविरुद्ध नेपाललाई जित हात पार्न सहज हुनेछैन । कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
नेपाल र कुवेत हालसम्म ८ पटक एक अर्काविरुद्ध मैदान उत्रदाँ नेपालले कुनै खेल जित्न सकेको छैन । नेपालविरुद्ध कुवेतले ७ जित हात पार्दा एक खेल बराबरी नतिजा सहित समाप्त भएको छ ।
छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । समान ३ अंक जोडेको जोर्डन शीर्ष तथा इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।
नेपाली टोलीः
गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा ।
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल ।
मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी ।
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।