नेपाल कुवेतसंग पराजित
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएसंगै लगातार दोस्रो हार व्यहोरेको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोली कुवेततलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गर्नु भयो । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गर्नु भयो । नेपालका लागि दर्शन गुरुङले एक गोल गर्नु भयो ।
खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाउनु भयो । ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतको अग्रता दोबबर पार्नु भयो । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाउनु भयो । खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दै कुवेतलाई ४–० को स्थितीमा पुर्याउनु भयो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४–१ ले पराजित भयो ।
नेपालले ४० वर्षपछि कुवेतविरुद्ध गोल गरेको हो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।
छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।
कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।