करण, आसिफ र कुशलको उत्कृष्ट प्रदर्शनमा ओमानविरुद्ध नेपालको सानदार जित
काठमाडौं । करण केसीको पाँच विकेट र ओपनर आसिफ शेख र कुशल भुर्तेलेको कीर्तिमानी साझेदारीमा आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिनु भयो । कुशल भुर्तेलले ५६ रन जोड्नु भयो । यस खेलमा दुबै ओनरले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको तेस्रो अर्धसतक प्रहार गर्नु भयो ।
पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गर्नु भयो। जुन ओडिआईमा नेपालका ओपनरबाट गरिएको पहिलो शतकीय साझेदारी हो ।
यसअघि ओपनरको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिमा सर्वाधिक ठूलो साझेदारी यसै जोडीले गरेको थियो । गतवर्ष ओमानविरुद्ध नै यस जोडीले ६६ रनको साझेदारी गरेको थियो । नेपालका लागि ओडिआईमा सर्वाधिक ठूलो साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध १ सय २९ रनको गर्नु भएको थियो । आसिफ र कुशल यो साझेदारी एकदिवसीय अन्तर्राष्ट्रिमा नेपालका लागि दोस्रो ठूलो साझेदारी हो ।
रोहित पौडेल २६ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहदाँ देव खनाल १० रनमा आउट हुनु भयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाउनु भयो ।
नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिनु भयो । यससंगै करणले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक पाँच विकेट हल पुरा गर्नु भयो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट हल पूरा गर्नु भएको थियो ।
कप्तान सन्दीप लामिछानेले ३ विकेट लिदाँ दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १–१ विकेट लिनु भयो ।
योसंगै ओमानले लिग २ मा सम्पूर्ण ३६ खेल खेलेको छ । ओमान ३६ खेलमा ४४ अंक सहित लिग २ समाप्त गरेको छ । ओमान तालिकाको शिर्ष स्थानमा छ । हाल शिर्ष स्थानमा रहेपनि शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्नेकी पुछारको चारमा रहँदै प्लेमा पुग्ने अन्य टोलीको नतिजामा भर पर्नेछ ।
अमेरिका भ्रमणमा नेपालले पहिलो जित हात पार्दै अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । । नेपाले १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोडेको छ ।
ओमान ३६ खेलमा ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा २८ अंक जोड्दै दोस्रो, युएई २२ खेलमा २६ अंकका साथ तेस्रो तथा अमेरिका २३ खेलमा २१ अंक जोड्दै चौथो स्थानमा छ ।
नेपालले सिरिजको अन्तिम खेलमा आज राती घरेलु टोली अमेरिकासँग खेल्नेछ ।