चिनिया ऐतिहासिक उपन्यास “रातो महलको सपना” को सामान्य परिचय
काठमाडौं । “रातो महलको सपना” (चिनिया भाषामा ‘होङ्-लउ-मङ्’) करिब २५० वर्ष पहिले चीनमा चिनिया हान् भाषामा लेखिएको एक प्रसिद्ध उपन्यास हो । नेपाली भाषामा पूर्ण अनुवाद गर्ने हो भने करिब २००० पृष्ठ हुने यस उपन्यास तात्कालिक चिनिया समाजका चार कुलीन भारदार परिवारको उत्थान र पतनलाई पृष्ठभूमि बनाई लेखिएको छ । उपन्यासमा नायक नायिकाको प्रेमकथाका साथै अरू धेरै घटनाहरू पनि समावेश गरिएको हुँदा यसलाई कतिपय विद्वानहरूले तात्कालिक चिनिया समाजको विश्वकोश पनि भन्ने गरेका छन् ।
चीनमा दुई हजार वर्षदेखि प्रमुख दार्शनिक विचार धाराको रूपमा रहेको कन्फ्युसियसवाद (चिनिया भाषामा ‘रूचिया’) ले सामान्यतया मनोरञ्जनलाई महत्त्व दिदैन । कन्फ्युसियसवादले हरेक व्यक्ति (खास गरी पुरुषहरू) ले देश र समाजलाई उपयोगी हुने ज्ञानका पुस्तकहरूको अध्ययनको साथ कर्मकाण्ड, संगीत नृत्य, धनुर्विद्या, रथ चलाउने विद्या, सुलेखन र गणित, यी ६ वटा विषयको ज्ञानको र सीप सिक्न उत्प्रेरित गर्दछ, त्यही नै उनको मनोरञ्जनको विषय हुनु पर्दछ भन्ने मान्यता राख्दछ । कन्फ्युसियसवादको यस विचारको प्रत्यक्ष असर चिनिया साहित्यमा पनि परेको थियो, प्राचीन चिनिया साहित्यमा आफ्ना भावनाहरू (विशेष गरी दुःख पूर्ण भावनाहरू) अभिव्यक्त गर्न गीत-कविता विधा र विचारहरू अभिव्यक्त गर्न निबन्ध प्रबन्ध विधामात्र विकास भएको पाइन्छ । विशुध्द मनोरञ्जनका लागि लेखिने कथा उपन्यास विधा धेरैपछि, खास गरी थाङ् राजवंश (ई. ६१८-९०७) देखि मात्र विकास भएको पाइन्छ ।
चिनिया साहित्यको इतिहासमा मीङ् राजवंश (ई. १३६८-१६४४) र छीङ् राजवंशको (ई. १६३६-१९१२) समयमा मात्र कथा उपन्यास साहित्य पूर्ण विकसित अवस्थामा पुगेको थियो । यी दुई राजवंशको समयमा लेखिएका हजारौ कथा उपन्यास मध्ये चारवटा उपन्यास विशेष उल्लेखनीय मानिन्छ । “रातो महलको सपना” ती चारवटा उपन्यास मध्ये एक हो ।
“रातो महलको सपना” उपन्यासका लेखक छाओ स्य्वेछीन् (ई. १७१५-१७६३) हुन् । वहाँ राजपरिवारसंग निकट एक धनी शक्तिशाली परिवारमा जन्मिनु भएको थियो, वहाँको बाल्यकाल ठूलो धनी पारिवारिक वातावरणमा बितेको थियो, तर युवावस्थामा वहाँको धनी परिवारको पतन भएर वहाँ आर्थिक विपन्नताको अवस्थामा पुग्नु भयो । उपन्यासको प्रारम्भमा एक ठाउँमा “यी विवश निराश दिनहरूमा पुराना दिनहरू सम्झिंदै, एक्लोपनाको समयमा मेरा निश्छल भावनाहरूलाई व्यक्त गर्ने प्रयास गरी “रातो महलको सपना”को रचना गरें” भनी लेखिएको हुँदा केही विद्वानहरूले उक्त उपन्यास लेखकको आत्मकथामा आधारित हुन सक्ने बताएका छन् । उपन्यासमा भएका ४४० भन्दा बढी पात्रहरू मध्ये ५ दर्जन भन्दा बढी पात्रहरूको आन्तरिक विरोधाभास नहुने गरी सूक्ष्म चरित्रचित्रण गरिएको हुँदा लेखकले आफूले भोगेका, अनुभव गरेका कुराहरूलाई नै उपन्यासमा कलात्मक रूपमा उतारेका हुन् भन्ने भनाइलाई अरू बल मिल्दछ ।
उपन्यासको रचना भएर मुद्रित रूपमा प्रकाशन हुन अघि नै हातले लेखेर सारेर धेरै प्रति बनाई त्यसको बिक्री वितरणबाट प्रचार भइसकेको थियो । त्यसबेलादेखि अहिलेसम्म यस उपन्यासको आकर्षणमा कुनै कमी आएको छैन । धार्मिक पुस्तकहरू बाहेक लाखौं पाठकहरूले एक एक शब्द गरी बारम्बार पढ्ने गरेको साहित्यिक पुस्तक विश्वमा सायद यही मात्रै छ होला । “रातो महलको सपना” उपन्यासको अध्यययन अनुसन्धान गर्ने एउटा छुट्टै विषय नै बनेको छ, जसलाई चिनिया भाषामा ‘होङ्-स्य्वे’ भनिन्छ ।
यस उपन्यास चीनमा मात्र होइन विश्वका अन्य देशहरूमा चर्चित भएको छ । सय वर्षभन्दा पहिले नै यस उपन्यासको अंग्रेजी र फ्रेञ्च भाषामा अनुवाद भइसकेको थियो । अहिले विश्वका १३ भन्दा बढी भाषाहरूमा ५० भन्दा बढी पटक यसको सम्पूर्ण अथवा संक्षिप्त अनुवाद भइसकेको छ । यस उपन्यासको कुनै घटनाको आधारमा बनाइएका चलचित्रहरू दर्जनौं छन् भने, सम्पूर्ण उपन्यासलाई समेटेर अहिलेसम्म चार पटक धेरै खण्ड भएका टेलि श्रृङ्खलाहरू पनि निर्माण गरिएका छन् । तीमध्ये चीनको सिसिटिभीले सन् १९८७ मा निर्माण गरेको ३६ खण्ड भएको टेलिश्रृङ्खला सबैभन्दा लोकप्रिय रहेको छ ।
यदि तपाईहरुलाई यो “रातो महलको सपना”(चिनिया भाषामा ‘होङ्-लउ-मङ्’) उपन्यासको छोटो परिचय मनपरेमा तलको लिंकमा क्लिक गरि “रातो महलको सपना” को कथासारको अन्तर्वस्तु संक्षेपमा पढ्न सक्नु हुन्छ ।
👉 https://62849effea647.site123.me/
साभार: चिनिया साँस्कृतिक केन्द्र, काठमाडौं ।