नेपाल र भुटान भिड्दै
काठमाडौं । आज शुक्रबारबाट मलेसियामा सुरु हुन लागेको एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दै छ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ । दुबै टोली जित सिहत प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहनेछन् । तुलनात्मक रुपमा नेपाल भुटान भन्दा बलियो टोली हो । त्यसकारण नेपाल सहज प्रतिद्वन्दी भुटानविरुद्ध हावी हुन सक्छ ।
च्याम्पियनसिपमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।