नेपालको विजयी सुरुआत
काठमाडौं । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यूएसडी यूकेएम ओभल मलेसियामा शुक्रबार सम्पन्न खेलमा भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुआत गरेको हो ।
नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा सबै विकेट गुमाउदैंै ४४ रन मात्र जोड्न सक्यो ।
भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रनको योगदान दिनु भयो । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन र पेमा सोल्डेनले ४ रन बनाउनु भयो ।
भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिता राना मगर र इन्दु वर्माले १–१ विकेट हात पार्नु भयो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिनु भयो । यस्तै इन्दु बर्माले २० रन र कप्तान रुबिना क्षेत्रीले २१ रन जोड्नु भयो ।
भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १–१ विकेट लिनु भयो ।
च्याम्पियनसिपमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।