अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एफबीआइ प्रमुख बर्खास्त
अमेरीका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो (एफबीआइ) का निर्देशकलाई हिलरी क्लिन्टनको इमेल छानविनको मुद्दामा गल्लती गरेको भन्दै पदबाट हटाएका छन्।
ह्वाइट हाउसले जेम्स कमीलाई ‘पदबाट हटाइएको’ भनी घोषणा गरेको उक्त निर्णय वाशिंगटनमा अप्रत्याशित थियो।
गत साता अमेरिकी कंग्रेस समक्ष कमीले क्लिन्टन इमेल प्रकरणबारे असत्य सूचना दिएको भन्ने बाहिर आएपछि ह्वाइट हाउसको पछिल्लो निर्णय आएको छ।
एफबीआइले ट्रम्पको चुनावी अभियान र रुसबिचको साँठगाँठबारेका आरोपहरुमाथि अनुसन्धान गरिरहेको थियो।
ह्वाइट हाउसले कमीको उत्तराधिकारीको खोजी तत्काल थालिने जनाएको छ।
५६ वर्षीय कमी सो पदमा चार वर्ष अगाडि नियुक्त भएका थिए। उनको अझै ६ वर्षको कार्यकाल बाँकी थियो।