एसिया कपमा पुग्न नेपाललाई ८२ रन आवस्यक
काठमाडौं । अश्मिना कर्माचार्यको पाँच विकेटको मद्दतमा युएईले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालसामू जितका लागि ८२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनको योगफल तयार पर्यो ।
युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रनको योगदान दिनु भयो । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन बनाउनु भयो । यस्तै खुसी शर्माले १२ रनको योगदान दिनु भयो ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिनु भयो । इन्दु वर्माले ३ र सीता रानाले २ विकेट चट्काउनु भयो ।
दुबै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । यो खेल जित्ने टोली एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा यस प्रतियोगिताबाट फाईनल पुग्ने दुई टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्डको सभागिता रहनेछ ।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । अर्को सेमिफाइनलमा आजै हङकङ र मलेसिया प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।