सिक्लेस हाइड्रोपावरको आईपीओ निष्काशन
काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गते देखि सर्वसाधारणका लागि प्राथमिक शेयर ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गरेको शेयरमा असोज २ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज १२ गतेसम्म म्याद थप हुनेछ ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने १० लाख ५८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको रजिष्टर्ड कार्यालय कास्कीको, पोखरा महानगरपालिका वडां नम्बर ७ मा रहेको छ । आवश्यकतानुसार स्वीकृती लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिने व्यवस्था छ । कम्पनीको जलविद्युत केन्द पनि कास्की जिल्लाकै मादी गाँउपालिका वडा नं–१, २ र ३ मा रहेको छ ।सिकलेस हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०६१ साउन १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७६ जेठ ३ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कारोबार संचालन गर्दै आएको कम्पनी हो ।
कम्पनीको मूख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना स्वरुप नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण र उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्ने, जलविद्युतको संभाव्यता अध्ययन गरी इन्जिनियरिङ्ग परामर्शबाट विद्युत उत्पादन प्रसारण तथा बिक्री वितरण गर्ने साथै सोलार, बायोग्यास, तापीय उर्जा, जैविक विकास, वायु उर्जा उत्पादन तथा नविकरण उर्जा सम्बन्धी अध्ययन, अनुसन्धान तथा तालिम सम्बन्धी काम गर्ने कम्पनीको योजना छ ।विभिन्न आयोजनाहरु तथा अन्य विद्युत उर्जा उत्पादकहरुबाट उत्पादित बिजुली खरिद गरी नेपाल विद्युत प्राधिकरण तथा सर्वसाधारण जनतालाई बिक्री वितरण गर्ने र उत्पादित विद्युत तथा अन्य उर्जा शक्ति वितरण गर्न आवश्यक प्रसारण तथा वितरण लाइन निर्माण गर्ने र सञ्चालन समेत गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालनक १ जना गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ ।हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट मात्रै ६ जना सञ्चालकहरु रहेका छन् ।सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना र थप एक जना विषेशज्ञ सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।कम्पनी सञ्चालक समितिको अध्यक्ष प्रेम कुमारी केसी रहेकी छन् । यस्तै सञ्चालक समितिमा रोशन केसी, सुनील नारायण श्रेष्ठ, किरण केसी, मनिषा भण्डारी केसी र कुल प्रसाद आचार्य रहेका छन् ।
कम्पनीले १३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १९ गते देखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।आयोजनाको कूल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १७ करोड ८२ लाख ८१ ह्जार रुपैयाँ रहेको छ ।साथै कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८।९१ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १२.९९ वर्ष रहेको छ ।
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ८५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी भने ६५ करोड रुपैयाँ मात्रै रहेको छ ।आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात
कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापकको ७६.४७ प्रतिशत र सर्वसाधारणको २३र५३ प्रतिशत कायम हुनेछ ।
कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासको लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न तथा सर्वसाधारणलाई शेयरमा लगानी गर्ने अवसर दिन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत र सर्वसाधारणलाई १३।५३ प्रतिशत गरी कुल २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।आईपीओ निष्काशन गरेर संकलन भएको २० करोड रुपैयाँ नै विभिन्न बैंकबाट लिएको कर्जा भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।केयर नेपालले कम्पनीको आईपीओलाई २०७८ असोज २० गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०७९ असोज १९ गते सम्म कायम रहन्छ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर एप https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।