नेप्से परिसूचक करिब २.८८ प्रतिशत घट्यो
काठमाडौं। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब २.८८ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो २ कारोबार दिन उकालो लागेको नेप्से, यस दिन भने ५७ अंक घटेर १९२४.४८ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ११.२३ अंक, फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१२ अंक बढेको छ। नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन २३२ स्टकको ३५ हजार ५३७ पटकको कारोबारमा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको ६९ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य यस दिन सर्वाधिक ८ प्रतिशत घटेको छ। कारोबारमा आएको समृद्धि फाइनान्स र श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लक्ष्मी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिडी पावरको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै यस दिन बजार ओरालो लागेको हो।वाणिज्य बैंकहरुले गत फागुनदेखि निक्षेपको ब्याजदर बढाएका थिएनन्। बैंकहरुले पछिल्लो ६ महिनासम्म मुद्दती निक्षेपमा अधिकतम ११े.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। सोही समहति यस दिन बैंकहरुले खारेज गरेका हुन्। जसको प्रत्यक्ष असर यस दिनको बजारमा देखिएको हो।