दलहरुको ‘इगो पोलिटिक्स’ ले उपलब्धि गुम्ने खतरा
भीम रावत
नेपाली राजनीतिमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात सत्तामा पुग्ने जुनसुकै दलहरुले पनि आफ्नो स्वार्थ भन्दा माथि उठेर कहिल्यै पनि देश र जनता प्रति उत्तरदायी भएर सोचेनन् । खासगरी सत्ता स्वार्थका कारण उनीहरु आपसमा बाझिरहे । २०४६ साल पछि नेपाली राजनीतिको मूख्य केन्द्र बनेको नेपाली काँगे्रस र त्यसको पछि–पछि कहिले सत्तापक्ष र कहिले विपक्ष बन्ने गरेको नेकपा एमालेको आपसी द्वन्द्वका कारण २०५१ सालको मध्यावधी निर्वाचनमा जम्मा २० सीट जितेको राजावादी पार्टी राप्रपाले कहिले नेपाली काँगे्रसको काँधमा चढेर त कहिले नेकपा एमालेको काँधमा चढेर दुई–दुई वटा सरकारको नेतृत्व गर्ने मौका पाएको थियो । २०५४ सालमा मूख्य त राष्ट्रियताको विषयलाई लिएर एमाले विभाजन भयो । पार्टी विभाजन भएकै कारण २०५६ सालको निर्वाचनमा एमाले कमजोर भयो भने नेपाली काँगे्रसले पुनः बहुमतको सरकार बनाउने अवसर प्राप्त ग¥यो । तर आफ्नै दल भित्रको आन्तरिक ‘कलह’ का कारण नेपाली काँगे्रस पनि विभाजन भयो । तत्कालिन बहुदलीय व्यवस्थाका प्रमूख राजनीतिक दलहरु काँगे्रस र एमाले आन्तरिक कलहका कारण विभाजन भै कमजोर भैरहेकै अवस्थामा २०५८मा दरबार हत्याकाण्ड भयो । पुराना पञ्चहरु छुट्टै पहिचान सहित स्थापित हुन नसकिरहेको अवस्थामा नयाँ राजा पाएपछि ज्ञानेन्द्र शाहको वरिपरी केन्द्रित भए । उनीहरुकै आड,भरोसा र सल्लाहमा ज्ञानेन्द्रले काँगे्रस – एमाले जस्ता प्रजातन्त्रका पक्षमा लडेका दलहरुलाई पालै–पालो खेलाउन सफल भए र प्रजातन्त्रलाई तानाशाही राजतन्त्रात्मक व्यवस्थामा बदल्ने प्रयन्त गरें । राजाले दलहरुका अधिकारहरु हडप्न थाले पछि देशमा सशस्त्र संघर्ष गरिरहेको तत्कालिन नेकपा माओवादी सँग उनीहरु मिल्नु पर्ने बाध्यता प¥यो । यसरी २०४६ सालमा प्राप्त भएको बहुदलीय संसदीय व्यवस्था मूख्य त काँगे्रस एमाले कै ‘इगो पोलिटिक्स’ का कारण राजाको हातमा पर्न गयो । त्यो संसदीय व्यवस्थामा नेकपा एमालेले काँगे्रसको सरकार भएको बेला लगातार ५७ दिन सम्म संसद बैठक अवरुद्ध गरेको थियो । नेपालमा सशस्त्र विद्रोहबाट माओवादी नयाँ शक्तिको रुपमा उदायो । माओवादीसँगै मिलेर पुराना संसदवादी शक्तिहरु समेत गणतन्त्रमा जान तयार भए र २०६२÷०६३ को नेपाली जनक्रान्तिले नेपालमा राजतन्त्रको अन्त्य ग¥यो र गणतन्त्रको स्थापना ग¥यो । तर गणतन्त्र स्थागत नहुँदै नेपालका प्रमुख राजनीतिक दलहरु ‘सत्ता स्वार्थको मोह’का कारण यति बेला फेरि ‘इगो पोलिटिक्स’ मा लागेका छन् । नेकपा एमालेलाई राष्ट्रियताको मोहले होइन, सत्ताबाट बहिर्गगन हुँदाको पीडाले ‘इगो पोलिटिक्स’ मा संकेन्द्रित गराएको छ । उसको राष्ट्रियता त उहिल्यै महाकालीमा बगेको र टनकपुरमा जलिसकेको हो । नेपालमा यति बेला राजनीति दलका कोही नेताहरु पनि वास्तविक रुपमा राष्ट्रवादी छैनन् । सत्ता नपाए सम्म राष्ट्रवादी बन्ने र सत्ता पाउनलाई र सत्तामा रहेका बेला शक्तिकेन्द्र सामु ‘त्वमशरनम्’ गर्ने प्रवृत्ति नेपालका सबै दलहरुमा र तिनका प्रमुख नेताहरुमा जबरजस्त हाबी छ भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । नेपाली जनता मात्र स्वाभिमानी छन् । तिनै स्वाभिमानी जनताको काँधमा चढेर राष्ट्रियताको दुहाई दिन्छन् । तर आफ्नो स्वार्थ पुरा हुँदा स्वाभिमानी जनता बिर्सन्छन् र शक्तिकेन्द्रको आशिर्वाद थाप्न तछाड–मछाड गर्न पछि पर्दैनन् । यति बेला खासगरी सरकार पक्ष, प्रमुख विपक्ष नेकपा एमाले र मधेशवादी दलहरुको ‘इगो पोलिटिक्स’ का कारण देश फेरि एकपटक मुडभेडको दिशातिर गैरहेको छ । यही मौकामा राजावादी शक्तिहरु केन्द्रिकृत हुँदै छन् भने लोकतान्त्रिक भनिएका शक्तिहरु आपसी द्वन्द्वमा फस्दै गैरहेका छन् । प्रमुख विपक्ष एमालेले अवरोध गरेका कारण संसदको नियमीत बैठक एक महिना देखि अवरुद्ध छ । अबको १३ महिना भित्र नेपालमा नयाँ संविधान अनुसार नयाँ संवैधानिक संरचनाहरु निर्धारण गरी तीन तहको निर्वाचन सम्पन्न गर्नु छ । नयाँ संविधान अनुसार निर्धारण हुने संरचनाहरुको निर्वाचनका लागि त्यस अनुरुपका ऐन, नियम, कानून आदि बनाउनु पर्ने छ । संसद नचलेसम्म यी काम पुरा हुन सक्दैनन् । सरकारले गैर संवैधानिक रुपमा संविधान संशोधनको विधेयक दर्ता गराएको भनेर प्रमुख विपक्षी एमाले लगायतका केही दलहरुले संसद बैठक अवरुद्ध गरिहेका छन् । तर यति बेला सर्वोच्च अदालतले संसदमा संविधान संशोधन सम्बन्धी विधेयक दर्ता गराउने , संसदमा छलफल गराउने र विधिसम्बत प्रक्रिया पुरा गरी त्यसको निक्र्योल गर्ने अधिकार स्वयम संसदकै रहेकोले त्यसको निकास त्यही नै खोज्नु भनी फैसला समेत गरिसकेको अवस्था छ । यस्तो अवस्थामा अब पनि जिम्मेवार राजनीतिक दलहरुले ‘इगो पोलिटिक्स’ गरेर आफूले भनेको नभए सम्म यसो हुन दिदैनौं त्यसो हुन दिदैनौं भनेर अडचन पैदा गरिरहने हो भने संवैधानिक संकट आउने र प्राप्त भएका उपलब्धिहरु पनि फेरि गुम्ने खतरा आउन सक्छ । त्यसैले दलहरु मिल्नुको कुनै विकल्प छैन । नेपाली राजनीतिमा दलहरुले एकले अर्कोलाई चिनेका मात्र होइनन् , नेपाली जनताले समेत सबै दलहरुलाई राम्रो सँग चिनिसकेका छन् । आफ्नो स्वार्थका निम्ति बेतुकका नारा लगाउन बन्द गर । समयमै दलहरुले वुद्धि नपु¥याए ‘न्याउरी मारी पछुतो’ भने झै होला । समय छदै सोचौं ।