उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा गर्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने फाइनल खेल मध्यान्न १२ बजेदेखि सुरु हुने छ । लुम्बिनी दिपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रदा विराटनगरको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पैडेलले गर्नु हुने छ । । दुबै टोली जित सहित पहिलो संस्करणको नेपाल टी–२० लिगको च्याम्पियन बन्ने योजना सहित मैदान उत्रने छन् ।
मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको थियो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै पराजित गरेर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
लिग चरणका १० खेलमा ८ जित सहित १६ अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा रहदै सिधै क्वालीफयर्स चरणमा पुगेको थियो । १० खेलमा ५ जित र समान हार बेहोरेको विराटनगर १० अंक सहित लिगको तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको थियो । लिग चरणका दुबै खेलमा लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो । दुबै खेलमा लुम्बिनी क्रमस ३ रन र १२ रनले विजयी भएको थियो ।
लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने जनाएको छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।